स्थानीय सरकार चुल्होको सरकार हो : मुख्यमन्त्री शाही



सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले विकास र समृद्धिका लागि तीन तहका सरकारबीच सहमति, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताएका छन् । उनले संविधानलेनै तीन वटा सरकारलाई बाँधेको बताउँदै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । मुख्यमन्त्री शाहीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी अझ धेरै रहेको बताए ।
‘स्थानीय सरकार चुल्होको सरकार हो,’ कर्णाली प्रदेश समन्वय समितिको छैटौं बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश देखिने सरकार हो भने संघ सुनिने सरकार हो ।’ मुख्यमन्त्री शाहीले जनताका साना–साना समस्या स्थानीय सरकारमा आउने भएकाले त्यस्ता समस्या समाधानको पहिलो दायित्व पनि स्थानीय सरकारको भएको बताए । उनले स्थानीय सरकारका गुनासा र समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री शाहीले समयको महत्व सबैले बुझ्नुपर्ने बताए । ‘समय जीवन हो, समय पैसा हो,’ मुख्यमन्त्री शाहीले भने, ‘जनताको सेवाका लागि चुनिएका जनप्रतिनिधिले समयको महत्वलाई बुझ्न आवश्यक छ ।’ समिति बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश सरकारले जनता र स्थानीय जनप्रतिनिधिबीच द्वन्द्व सृजना गर्ने काम गरिरहेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्