अब हुवावेमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप नहुने



काठमाडाैंः चिनियाँ कम्पनी हुवावेका स्मार्टफोनमा फेसबुकले आफ्ना ‘प्रि–इन्स्टल’ अर्थात् फोन उत्पादन गर्दा नै राख्ने व्यवस्था अन्त्य गर्ने भएको छ । समाचार संस्था रोएटर्सकाअनुसार अब फेसबुक र यसका भगिनीसंस्था ह्वाट्सएप र इन्स्टाग्रामका एप पनि हुवावेमा हुने छैनन् । 

गत मेमा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो । सोही कारण फेसबुकले यस्तो निर्णय गरेको हुनसक्ने बताइएको छ ।

हुवावेका नयाँ स्मार्टफोनमा फेसबुकका एप नराखिने भएपनि हाल प्रयोग भइरहेका फोनमा भने कुनै समस्या हुनेछैन । फेसबुकको पछिल्लो निर्णयबारे हुवावेको भने कुनै प्रतिक्रिया आएको छैन ।

फेसबुकका एप हुवावेको फोनमा ‘प्रि–इन्स्टल’ नहुने भए पनि प्रयोगकर्ताहरू आफैंले एप डाउनलोड गर्न भने सक्नेछन् । तर अर्को अमेरिकी कम्पनी गुगलले प्ले स्टोरमा ह्वावेईको पहुँच नदिएमा प्रयोगकर्ताहरूले फेसबुक र अन्य एप डाउनलोड गर्न पाउनेछैनन् ।

प्रयोगकर्ताले प्ले स्टोर तथा गुगल एप प्रयोग गर्न सक्ने भए पनि गुगलले आगामी अगस्टदेखि हुवावेलाई महत्वपूर्ण एन्ड्रोइड सफ्टवेयरहरू प्रयोग गर्न नदिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्