एमाले सांसदद्वारा राष्ट्रिय सभामा विरोध



काठमाडौँ : नेकपा एमालेका सांसदहरुले बुधबारको राष्ट्रिय सभा बैठकमा विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बोल्न समय दिएका थिए ।

एमालेको तर्फबाट बोलेकी भगवती न्यौपानेले सभामुखको राजीनामा मागेकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै उनले भनिन्, ‘उहाँले निष्पक्ष व्यवहार गर्न सक्नुहुन्न र संसदीय मर्यादा अनुसार चल्न सक्नुहुन्न भने उहाँ सभामुखको हैसियतमा रहन सक्नुहुन्न। उहाँले राजीनामा दिनुपर्छ। उहाँ सभामुखको कुर्सीमा बस्न योग्य हुनुहुन्न। जवाफ नआउञ्जेलसम्म यो सदन चल्न दिनुहुन्न।’

अध्यारो कोठामा बसेर एमालेमाथि षडयन्त्र गरेको र सभामुख मतियार बनेको उनको आरोप छ । सभामुखले आफ्नो पदीय मर्यादा र संवैधानिक व्यवस्थालाई भुलेको न्यौपानेको आरोप थियो। उनले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले खेद र आपत्ति प्रकट गरिन्।

अध्यक्ष तिमिल्सिनाको अनुरोधपछि एमाले सांसद्हरु यथास्थानमा बसेका थिए । त्यसपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको थियो । सभामुखले विभोदपूर्ण व्यवहार गरेको भन्दै एमालेले प्रतिनिधिसभामा पनि निरन्तर अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्