उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण



काठमाडौं : उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको जनाएको छ । समाचार संस्था योनहापका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले यसअघि नै अज्ञात रकेट प्रक्षेपण गरेको बताएका छन्। जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ छ ।

यद्यपि यस विषयमा जापान र दक्षिण कोरियाले विस्तृत जानकारी भने दिएका छैनन् । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइलको क्षमता जापानसम्म आक्रमण गर्न सक्ने किसिमको रहेको बताइएको छ । जानकारहरुका अनुसार क्रुज मिसाइलको माध्यमबाट परमाणु हतियारले पनि आक्रमण गर्न सकिन्छ ।

राष्ट्रसंघले क्रुज मिसाइलको प्रक्षेपणमा कुनै रोक लगाएको छैन । यद्यपि ब्यालेस्टिक मिसाइललाई धेरै खतरानक मान्ने गरिएको छ । यसले निकै ठूला र शक्तिशाली हतियार निकै टाढासम्म पुर्‍याउन सक्ने किसिमको हुन्छ। ब्यालेस्टिक मिसाइलले धेरै छिटो निशानामा प्रहार गर्न सक्छ । ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्नु राष्ट्रसंघले उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्न बनाएको प्रावधानको उल्लंघन हो ।

प्रतिक्रिया दिनुहोस्