अवैध सम्बन्ध खुल्ने डरले बालिकाको हत्या



वीरगंज : अवैध सम्बन्ध लुकाउन अबोध बालिकाको हत्या गरेको आरोपमा वीरगंजबाट एकजना युवक पक्राउ परेका छन्। गत पुष २४ गते सरोज महतो कुश्वाहाकी १० बर्षीय छोरी रिजवान महतोको हत्या गरेको आरोपमा प्रहरीले वीरगंज १६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको हो ।

सराेजकाे परिवार वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई र हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएकाे छ । बालिकाको शव कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक ओमप्रकास खानालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पछिल्लो अनुसन्धानले पक्राउ परेका कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेका खुलेको छ। पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्