कैलाली हावाहुरी : मृतकका परिवारलाई डेढ लाख दिने निर्णय 



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने भएको छ । 

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारसँगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । पूर्णरुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ थप रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

योसँगै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

यस्तै, बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापडण्ड बनाइ कार्यान्वय गर्नुपर्ने निर्णय भएको मन्त्री शाहले बताए ।

मन्त्री शाहले हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको बताए । उनले क्षतिको विवरण आएलगत्तै राहत रकम उपलब्ध गराइने बताए ।

उनका अनुसार अहिलेसम्म कैलालीमा १ हजार १ सय ७४ घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिए । 

मन्त्री शाहले कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जति सक्यो चाडो ल्याउने प्रयास भइरहेको बताए । विद्युत सेवा सूचारु गराउन सुरक्षा निकाय, विद्युतका कर्मचारीहरुले तिव्र रुपमा काम गरिरहेका छन् । केही ठाउँमा विद्युत सेवा शुरु भइसकेको छ उनले भने ।

विपद राहत कोषमा रकम सहयोग गर्न आह्वान

प्रदेश सरकारले यस प्रदेशमा सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेशमा आउने बाढी, हावाहुरी, पहिरो लगायतबाट प्रभावित भएका पीडितलाई रकम उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गरिने प्रदेश सरकार प्रवक्ता प्रकाशबहादुर शाहले बताए ।

उनले सोे कोषमा आम सुदूरपश्चिमबासीलाई रकम जम्मा गर्न पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्