थप ११ जिल्लाको क्रियाशील सदस्यता टुङ्गियो



काठमाडौं । १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेसले थप ११ जिल्लाको क्रियाशील सदस्यताको नामावलीमा देखिएको विवाद टुङ्गाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान उच्चस्तरीय कार्यदलले काठमाडौंसहित थप ११ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद टुङ्गायाएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ खतिवडाले ११ जिल्लाको सदस्यता मङ्गलवार नै टुङ्गिएको र बाँकी ९ जिल्लाको पनि बुधबार साँझसम्म टुङ्गायाइने जानकारी दिए ।
सिटौला नेतृत्वको कार्यदलले मङ्गलवार काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको सदस्यता विवाद समाधान गरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले सदस्यता टुङ्गिएका जिल्लामा निर्वाचन अधिकृत तोक्दै नामावली पठाउने निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिए ।
कांग्रेसले हालसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । तर त्यसमध्ये पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशनमा भने विवाद भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन सत्ता र शक्तिका आडमा गरिएको र धाँधली भएको भन्दै पुनः अधिवेशनको माग गर्दै आइरहेको छ ।
कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेलधुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्