अल्फाबिटा र चाइना ट्रेडलिंकले ए डिभिजन फुटसल लिगको प्रायोजन गर्ने



काठमाडौं । ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिंक प्रालिलाई प्रायोजकको रुपमा पाएको छ ।
अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आईटी कम्पनी अल्फाबिटा थिटा लुम्बिनी फुटसलको मुख्य प्रायोजक र खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकको रुपमा जोडिएका छन् ।
प्रालिले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सम्झौता गरेको हो । सम्झौतापत्रमा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठ र अल्फा बिटा थिटाका सीईओ मिजेस श्रेष्ठ तथा चाइना ट्रेडलिंक प्रालिका मार्केटिङ म्यानेजर कृतराज महर्जनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अल्फाबिटा थिटाले लुम्बिनीलाई ४ लाख रुपैयाँ प्रदान गर्नेछ भने लुम्बिनीले लगाउने जर्सीमा प्रायोजकको लोगो राखिनेछ । लिनिङले लुम्बिनीले लिगका लागि आवश्यक करिव दुई लाख बराबरको जर्सीसहित खेल सामग्री उपलब्ध गराउनेछ ।
लिगका लागि यसअघि नै ज्ञानी पोलिट्यांक्स एन्ड पाइप कम्पनीले १ लाख ५० हजार रुपैयाँ प्रायोजन गरिसकेको छ । असोज २ गतेबाट पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुने लिगका लागि लुम्बिनीले काडमाडौमा अन्तिम तयारी गरिसकेको प्रशिक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए । प्रदेश ५ मा आयोजना भएको छनोटमा लुम्बिनी फुटसल च्याम्पियन बन्दै ए डिभिजन लिगका लागि छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्