युरोपेली लिगमा पनि आज ८ खेल हुँदै



काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको दोस्रो दिन बुधबार समूह चरणका आठ खेल हुँदै छन् ।
बुधबार राति समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहका आठ खेल हुनेछन् । समूह ‘ए’को खेलमा बुधबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेल्जियन क्लब ब्रुग्ज्ससँग खेल्दै छ । खेलमा केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सी एकसाथ मैदान उत्रिने सम्भावना छ ।
समूह ‘ए’कै अर्को खेलमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को खेलमा एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब एफसी पोर्टोसँग र लिभरपुलले एसी मिलानसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दै छन् ।
समूह ‘सी’को खेलमा बेसिक्टासले बोरुसिया डर्टमुन्डको सामना गर्दा स्पोर्टिङ सिपीले आयाक्ससँग खेल्नेछ ।
समूह ‘डी’मा रहेको साख्तर डोनेस्कले पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको एफसी सेरिफसँग खेल्नेछ । समूह ‘डी’कै अर्को खेलमा इटालियन च्याम्पियन इन्टर मिलानले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्