प्रचण्ड र माधव नेपाल पार्टी कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लागे : विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडलले प्रचण्ड र माधव कुमार नेपालले क्रमशः नेकपा र एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् ।
प्रचण्ड–माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको उनले बताए ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन नेकपा एसमा लागेकाहरूलाई सुझाव दिए ।
पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।
पौडेलले भने मुलुक छिट्टै चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए । केही समय आफ्नै पार्टीभित्रका स्वार्थीहरूका कारण प्रतिपक्षमा बस्नु परे पनि एमालेले आफ्नो हैसियत देखाउने उनले दावी गरे । उनले माओवादी आन्दोलनको मूलधार केपी ओली नेतृत्वकै पक्षमा रहेको र एमालेमै समाहित भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्