एमालेको सही नेतृत्व र विचारले कम्युनिस्ट आन्दोलन सफल : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले मुलुकमा विकास कार्यहरु गर्न नसक्ने बताएका छन् ।
बुटवलमा बुधबार आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले अब घण्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले घण्टाघर भत्काए पनि बनाउन नसक्ने ओलीले दाबी गरेका हुन् ।
कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्छ । ‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,’ ओलीले भने, ‘अब यिनीहरूले घण्टाघर भत्काएर नयाँ बनाउने रे! यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काएमा हामी आएर भव्य घण्टाघर बनाउँछौं । एमालेले बनाउँछ ।’
सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ ।
बसेरै सम्बोधन गरेका ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणीसमेत गरे ।
ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् ।
‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ,’ ओलीले भने ।

ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको पनि बताए । ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ’देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।’
एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।
उनले भने,‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कामरेड भन्नुहुन्छ ?’
उनले अब माधव नेपाललाई कमरेड भन्नपनि नसकिने टिप्पणी गरे । उनले भने, ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

प्रतिक्रिया दिनुहोस्