चुनावका लागि दबाब दिन अनेरास्ववियुद्वारा आन्दोलन कार्यक्रम सार्वजनिक



काठमाडौं । निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले दबाबस्वरुप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्तिमार्फत जारी गर्दै तत्काल निर्वाचनको मिति सार्वजनिक गर्न माग गरेकी हुन् । उनले निर्वाचन मिति घोषणा नभए लाखौं विद्यार्थीलाई सडकमा उतार्ने चेतावनी दिएकी छन् ।
स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।अनेरास्ववियुले सोमबार देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।
यस्तै सोमबार नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । मंगलबारसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने र बुधबारसंघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ ।

 

प्रतिक्रिया दिनुहोस्