हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन



काठमाडौं । हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।
कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् ।
छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् । छानविन समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको डा. लोहनीले पुष्टि गरे ।
केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्