अनलाइन जुवा खेल्ने ७४ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ : अनलाइन जुवा खेलेको आरोपमा ७४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । आइतबार साँझ एक रेष्टुरेन्टबाट ६६ जना पुरुष र ८ जना महिला पक्राउ परेका हुन् ।

काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिएका छन् ।

उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको मैनालीले जानकारी दिएका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड-१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्