चैनपुरमा खानेपानीको चरम अभाव, १४ परिवारले गाउँ छाडे



संखुवासभा : संखुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्।

वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन्। सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल विसौना र मलाटेका लगायत गाउँमा खानेपानीको चरम अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन्। चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेका वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए। गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मङ्गल तामाङ बसाइँ सरेका छन्।

कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् । त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राई लगायतको घरपरिवार बसाइँ सरेको छ। झिलझिले गाउँको टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब दुई हजार ५ सय घरधुरीमा खानेपानीको अभाव छ। गाउँमा पानीको मुहान नहुँदा स्थानीयले पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग खाने गरेका छन्। पिलुवा खोलामा पानी लिन जाँदा दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीयवासी भरत भण्डारीले बताए।

खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ। खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्