भारतीय दूतावासमा हिन्दी दिवस मनाइयो



काठमाडौं । काठमाडौंस्थित भारतीय दुतावासले ‘आजादीका अमृत महोत्सव’ नामक कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आरम्भ गरेको छ ।
‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भएको दूतावासले जनाएको छ । पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाइने जनाइएको छ ।
वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा वेबिनारमा सहभागी थिए । त्यस्तै, नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र हन्दी साहित्यकार डा. राम दयाल राकेश पनि वेबिनारमा सहभागी थिए ।
वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो ।
पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । दूतावासमा कार्यरत भारतीय अधिकारीले राजभाषा प्रतिज्ञा लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।
सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्