लुम्बिनी प्रदेशमा ३३ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप



बुटवल : लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् ।

प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।

प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमण यता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना संक्रमित भएका थिए । प्रदेशभरको कूल जनसंख्याको १९ दशमलब १४ प्रतिशत नागरिक संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्