पर्सामा हावाहुरीले १ जनाको मृत्यु, आधादर्जन भन्दा बढी घाइते



पर्सा : पर्सामा आइतबार साँझ आएको भीषण वर्षासँगै हावाहुरी र चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने आधादर्जन घाइते भएका छन् । चट्याङ लागेर ठोरी गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो । घर देखि मुनि खेतमा भैँसी चराउन गएका बेला खसेको चट्याङले लागेर विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । 

दार्चुला जिल्ला घर भएका विष्ट, कक्षा ११ को परीक्षा सकेर ठोरी स्थित मावली घरमा दुई साता देखि बस्दै आएका थिए । चट्याङ लागेर भैँसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराइका अनुसार, वीरगन्ज ७ रामटोलमा महेश साहको निर्माणधीन घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओम प्रकाश साह, १८ वर्षीय दीपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किन जाँदा उनकी छोरी १४ वर्षीया गुल्सन खातुन र पत्नी ३८ वर्षीय शायदा खातुन घाइते भएका हुन् ।

पाँचै जना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ । हुरीले वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पु-याएका कारण आइतबार साँझ ६ बजे देखि रेडियोको प्रसारण अवरुद्ध भएको छ ।

हुरीले रेडियोको टावरको वायर पिलर नै उखेलिदिएका कारण टावर बाँगिएको र १० वटा भन्दा बढी सोलार प्यानलहरूपनि क्षति ग्रस्त भएकाले रेडियोको प्रसारण अवरुद्ध भएको रेडियोका स्टेसन म्यानेज क्रान्ति साहले जानकारी दिए । 

 

यस्तै आइतबार  साँझको हावाहुरीले नै वीरगन्जको इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको र प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको प्रजिअ भट्टराइले जानकारी दिए । हुरीले छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भत्काएको जानकारी दिँदै भटटराइले भने,‘ हुरीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

एक्कासि आएको हावाहुरीका कारण साँझ चार बजे देखि काटिएको विद्युत् अहिले सम्म आएको छैन । हावा हुरीले ठाउँ ठाउँमा बोल ढालेका कारण जिल्लाकै विद्युत् प्रभावित भएको विद्युत् केन्द्र वीरगन्जका प्रमुख मुनीन्द्र ठाकुरले बताए । समयमै महानगरको नाला सफाइ नभएका कारण बर्षातको पानी निकासी हुन नसके पछि वीरगन्ज महानगर नै जलमग्न भएको छ । 

थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्