नेपाली क्रिकेटको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । लेभल ३ सीए लाइसेन्स प्राप्त श्रीनिवास नेपाल आइसकेको र ट्वान्टी–२० ग्लोबल छनोटको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा आफ्नो भूमिका सम्हालिसकेको नेपाल क्रिकेट संघले जनाएको छ ।
श्रीनिवासले पुबुदु दासानायकेसँग पनि अमेरिकी क्रिकेट टोलीमा काम गरेका थिए । अमेरिकी टोलीमा पुबुदु मुख्य प्रशिक्षक हुँदा उनी फिल्डिङ प्रशिक्षकको जिम्मेवारीमा थिए ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक दासानायकेले श्रीनिवास निकै उर्जावान फिल्डिङ प्रशिक्षक भएको बताएका छन् । उनको आगमनले नेपाली क्रिकेट टोलीमा देखिएका केही कमजोरी सुधार हुने उनको अपेक्षा छ ।
ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्