निर्देशिका मिचेर राजदूत सिफारिस



 

काठमाडाैंः राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत मन्त्रिपरिषद्ले बिहीबार चार जनालाई राजदूतमा सिफारिस गरेको पाइएको छ। निर्देशिकाको पहिलो नम्बरमा ‘नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट गरिनेछ’ भनिएको छ। तर बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकका लागि प्रस्तावित राजदूतको नाम पढेर सुनाएपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाहा पाएका थिए।

बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटिएका मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागी ‘ढिलोचाँडो रिक्त स्थानमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ’ भन्दै जवाफ फर्काइरहेका थिए।

कतारका लागि नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, बंगलादेशका लागि डा। वंशीधर मिश्र र स्पेनका लागि दावाफुटी शेर्पालाई कूटनीतिक कार्यविधि तथा प्रक्रियाबाट नभई ‘राजनीतिक सिफारिसका नाम’ भन्दै कुनै बहस नगरी मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

चारमध्ये भारद्वाज झापा काण्डमा प्रधानमन्त्री ओलीको सहयात्री बनेर सँगै जेल बसेका थिए । उनी त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयका सहप्राध्यापकसमेत थिए। दाहाल भने नेकपा अध्यक्ष पुष्पकमल दाहालका आफन्त तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्षसमेत हुन्।

डा. मिश्र पूर्वस्वास्थ्य राज्यमन्त्री हुन् भने शेर्पा सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङल्हामुकी छोरी हुन्। ‘राजदूत बन्न नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय–बहुपक्षीय कूटनीतिका आयामहरूबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ,’ एक पूर्वराजदूतले भने, ‘तर सरकारले अहिले पठाउन लागेका ४ राजदूतमध्ये कोही पनि कूटनीतिक मामिलाका जानकार वा सरोकारसम्बद्ध देखिएनन् । कुनै सार्वजनिक संस्थामा अध्यक्ष नियुक्त गरिएजस्तै स्थिति देखिएको छ।’

अर्कोतिर राजदूत परराष्ट्र सेवा तथा बाहिरबाट ५०–५० प्रतिशतको अनुपातमा नियुक्त गर्ने अभ्यास रहँदै आएको थियो । पछिल्लो निर्णयमा राजनीतिक प्रभाव बढी हावी देखिएको छ।

‘अनावश्यक कारण र प्रयोजनमा अमेरिकास्थित राजदूतको कार्यकाल थप गरिएको देखिन्छ,’ परराष्ट्रले कूटनीतिक कार्यविधि तय गर्न बनाएको कार्यदलका एक पूर्व सदस्य भन्छन्, ‘न कूटनीतिक पदाधिकारीको कार्यमूल्यांकन हुन सकेको देखिन्छ, न त्यसको औचित्य खुलाउन सकिएको छ।’

बाहिरी विश्वमा रहेका नेपालका ३३ वटा कूटनीतिक नियोग तथा राजदूतसरहको पदस्थापनमा हाल दक्षिण कोरिया तथा दक्षिण अफ्रिकामा मात्रै रिक्त छ।

विगतमा कांग्रेस नेतृत्वको सरकारले पठाएकामध्ये जापानमा प्रतिभा राणा, म्यानमारमा भीम उदास, श्रीलंकामा विश्वम्भर प्याकुरेल र ओमानमा शर्मिला पराजुली ढकाल मात्रै राजदूतका रूपमा सेवारत छन्।

प्रतिक्रिया दिनुहोस्