सभापति देउवाले पौडेल–कोइराला पक्षलाई छलफलका लागि बोलाए



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको पार्टी अधिवेशनमा उत्पन्न विवादका विषयमा छलफल गर्न पौडेल–कोइराला पक्षलाई बैठकमा बोलाएका छन् । गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि बढेपछि उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
पार्टीभित्र चरम अलोकतान्त्रिक गतिविधि बढेको र सत्ताको दुरुपयोग गरेर सभापतिले आफ्नै जिल्लामा वडा अधिवेशन गराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध जनाएपछि देउवाले पौडेल–कोइराला पक्षमा रहेका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।
देउवाले उनीरुलाई शुक्रबार अपरान्ह बालुवाटारमा बैठकमा बोलाएका हुन । यसअघिसम्म डडेलधुराको वडा अधिवेशनबारे मौन बसेका देउवाले विवाद उत्कर्षमा जाने संकेत देखिएपछि पौडेल–कोइराला पक्षलाई बालुवाटारमै बोलाएर छलफल गर्न लागेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, गगन थापालगायतका नेताहरुले बिहीबार केन्द्रीय निर्वाचन समितिसँग डडेल्धुराको विवादका बारेमा जानकारी लिएका थिए । यसअघि भदौ २५ गते सभापति देउवालाई भेटेरै पौडेल समूहले क्रियाशील सदस्यता छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने तथा महाधिवेशनमा राज्यको प्रहरी–प्रशासनको दुरुप्रयोग हुन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्