पुतलीको प्रकोप बढ्दै,सजग रहन चिकित्सको आग्रह




गुल्मी । गुल्मीका विभिन्न ठाउँमा सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । पुतलीकोे प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् ।

आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग अगिल्लो वर्षको जस्तै यसपानि पनि देखिन थालेको छ । वर्षायाम सकिने समयमा पुतलीको प्रजनन् शुरु हुने भएकाले पनि यो बेला सेतो पुतली सापुका बिरामी धेरै देखिएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ। आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, ज्योति कम हुँदै जाने र खासै नदुख्ने लक्षण पाइएमा सेतो पुतलीको संक्रमण हुनसक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

यो संक्रमण निकै डरलाग्दो हुने भएकोले सजक रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस्तो लक्षण देख्ने बित्तिकै घरेलु उपचार नगरी छिटो भन्दा छिटो अस्पताल जानु पर्ने उनीहरुको भनाइ छ । धेरै जस्तो यो समस्या आएपछि पनि बिरामीहरु ढिलो अस्पताल जाने गर्दछन् तर यसको तत्काल उपचार नभए आँखाको ज्योति समेत गुम्ने खतरा रहेको चिकित्सकहरु बताउछन् ।
जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । सम्पर्कमा आएका ६–७ जना बिरामीलाई थप सुविधा नभएका कारण सिधै भैरहवा जान सल्लाह दिएको आँखा उपचार केन्द्र गुल्मीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्