नेपाल-चीन सीमा अध्ययन टोली सुर्खेत फिर्ता



हुम्ला । चीनसँग जोडिएको हुम्लाको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली सुर्खेत फिर्ता भएको छ ।
टोलीले लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरे पनि ३, ४ र ११ नम्बर पिलरमा नपुगी फिर्ता भएको हो ।
सिमिकोटबाट गाडीमार्फत् लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रवार हेलिकोप्टरबाट सुर्खेत फिर्ता भएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सीमास्तम्भ, लाप्चा र हिल्सा क्षेत्रमा टोलीले अध्ययन गरी शुक्रबार सुर्खेत फर्केको जानकारी दिए ।
संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ गते हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो ।
प्रजिअ आचार्यले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सीमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको दाबी गरे ।
शुक्रवार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भमा हेलिकोप्टरबाट गएर अध्ययन गर्ने कार्य भएको भएपनि त्यो पुरा नभएको जनाए ।
टोलीकै लागि नेपाली सेनाको हेलिकोप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकोप्टर उडान भर्न नसक्दा टोली सिमिकोट हुँदै सुर्खेततर्फ लागेको हो ।
टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोरकुमार श्रेष्ठ, प्रदिपकुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् । जसमा नापी बिभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ ।
दुई देशको सीमाक्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्