निर्वाचनको लागि दबाब दिन देशैभर अभियान चलाउने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरिएको भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै, निर्वाचनको मिति तय गराउन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय भएको उनले जानकारी दिए ।
केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न पनि निर्देशन दिएको छ । बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय गरिएको छ ।
यसैगरी, १६ जिल्लाबाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिए ।
पार्टी विधानअन्तर्गत रहेर पार्टी सञ्चालनका लागि नियमावलीलाई अगाडि बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेस गर्ने निर्णय पनि गरिएको छ । जनसंगठन परिचालनको निर्देशिका, आर्थिक निर्देशिकालगायत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरूलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताए ।
एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्