नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य



काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।
राष्ट्रिय टोलीमा डेब्यू गरेका गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरे । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।
त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।
अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १÷१ विकेट लिए ।
सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

प्रतिक्रिया दिनुहोस्