दलहरूबीच सहमति नभएपछि कर्णाली प्रदेश सभा बैठक स्थगित



सुर्खेत : कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो। दलहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।

आइतबार बसेको नवौं अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा आन्तरिक छलफल गर्नका लागि दलका नेताहरू छलफलमा जुटेका छन्। मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही र प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल छलफलमा जुटेका हुन् ।

नवौं अधिवेशनलाई प्रभावकारी बनाउनका सांसद नरेश भण्डारीको संयोजकत्वमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह र तथा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीसहित तीन सदस्यीय कार्यदल समेत निर्माण गरिएको छ। समितिले समेत सरकारलाई केही सुझाव समेत दिएको संयोजक नरेश भण्डारीले जानकारी दिए । उनले दलका नेताहरू अहिले छलफलमा जुटेको बताएका छन् ।

दलहरूबीच आन्तरिक कुरामा छलफल भइरहेको कारण आजको बैठक स्थगित गर्नुपरेको बुढाथोकीले बताए। उनका अनुसार आजको बैठकमा संसदीय समितिहरूले वार्षिक प्रतिवेदन सभामा पेस गर्ने एजेण्डा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्