शिक्षामन्त्री पौडेलले मागे त्रिभुवन विश्वविद्यालय सुधारका योजना



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन्। सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका हुन्।

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने,‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुपर्यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं ।’

मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढि रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुपर्ने बताए।

‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘ काउन्सीलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले खोलिदिनुपर्छ।’

मन्त्री पौडेलले कोष र क्वालिटीमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सृर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्