विप्लव कार्यकर्ताद्धारा शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब-इन्जिनियरमाथि हातपात



सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब-इन्जिनियर पवनकुमार यादवलाई विप्लवका कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् ।

सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै आज (सोमवार) दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउनुभयो । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ ।

युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शिक्षा समन्वय इकाइका सबइन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

आफूहरूले त्यो रकम विद्यालयलाई फिर्ता गर्न पटक-पटक आग्रह गरे पनि बेवास्ता गरेका कारण साङ्केतिक रूपमा कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ । साथै त्यो रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्नेसमेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

?????????
प्रतिक्रिया दिनुहोस्