त्रिवेणी–दुम्कीबास सडक निर्माण गर्ने सहमति



पोखरा । दक्षिण भारतदेखि र उत्तर चीनसम्म जोड्ने त्रिवेणी–कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको कामअघि बढ्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच सोमबार भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने निधो भएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।
वन तथा वातावरण सचिव पेमनारायण कँडेलले उक्त सडक अघि बढाउनेसम्बन्धी फाइल सोमबार नै सदर गरेका छन् । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन । उक्त ठाउँ चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ । तसर्थ त्यहाँ भौतिक संरचना निर्माण गर्न युनेस्कोको स्वीकृति चाहिन्छ ।
मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको सपना अब साकार हुने अवस्थामा पुगेको सुनाएका छन् ।
८ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको छ । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताएका छन् । यो बाटोको महत्वका बारेमा मुख्यमन्त्री पोखरेलले सोमबार वन मन्त्रालयमै पुगेर मन्त्रीलाई अवगत गराएका हुन् । त्यसलगत्तै सचिव कँडेलले फाइल सदर गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले सोमबारै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठसँग पनि भेट गरेका छन् । प्रदेश गौरवका आयोजनाका लागि जग्गा प्राप्ति प्रक्रिया निकै झन्झटिलो भएका कारण निकासका लागि उनले मन्त्री श्रेष्ठसँग आग्रह गरे । यसका अतिरिक्त सबै जिल्लामा भूमि आयोग गठनका लागि समेत मुख्यमन्त्रीले ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले सोमबारै नेपाली कांंग्रेसका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालासँग भेटेका छन् । बजेटको अभावका कारण आयोजना अलपत्र पर्ने अवस्था आएका कारण मुख्यमन्त्रीसहितको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्