जात्रा पर्वकी संरक्षक जीवित देवी कुमारीबारे यस्ताे छ किम्बदन्ती



ललितपुर : उपत्यकाको सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको भोटो देखाएसँगै आइतबार सकिएको छ। जात्रामा भोटो हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेलमा उपस्थित भइन्। उनले मच्छिन्द्रनाथको दर्शन गरेपछि रथको देब्रेतिर उत्तर फर्केको ठाउँमा बसेकी जीवित देवी मानिने कुमारीले आशीर्वाद दिइन्। कुमारी आफ्नो रथमा बसेर जात्रा हेर्छिन्, आउने सबैलाई आशीर्वाद दिन्छिन्। र, त्यसभन्दा पनि महत्वपूर्ण कुरा जात्राका क्रममा कुनै विघ्नबाधा नआओस् भनेर रथमा बसेर जात्रा अवलोकन गरिरहन्छिन्।

उनलाई जात्राको रक्षक मानिने जात्रा सञ्चालक बताउँछन्। ३२ पानेजु संघका अध्यक्ष तथा मच्छिन्द्रनाथका पुजारी (पानेजु) यज्ञरत्न शाक्यले एउटा किम्वदन्ती सुनाए। किम्वदन्ती यस्तो छ :

परापूर्वकालमा उपत्यकामा श्वेतकाली, रक्तकाली, भद्रकाली र महाकाली चार दिदीबहिनी राज्य गर्थे। उनीहरू चार जनामध्ये सबैभन्दा जेठी श्वेतकाली थिइन्। उनकी एकमात्र छोरी ‘कुमारी’ हुन्। त्यसै समयमा दानासुर दैत्य भैंसी चढेर उपत्यकामा आक्रमण गर्न आए। दानासुर र उनका सेनामेना देखेपछि चार जना दिदीबहिनी डराए।

उनीहरू भूमिगत भए। दानासुरले उपत्यकामा कसले राज्य चलाएका छन् भनेर खोजीनिति गर्न थाले। खोजबिन गर्दै श्वेतकालीको दरबार पुगे। उनी पुग्दा श्वेतकालीकी छोरी कुमारी शृंगार गरीरहेकी थिइन्।

दानासुरले कुमारीलाई देखे र मोहित भए, आशक्त भए। आक्रमण गर्न आएका दानासुर कुमारीसँग आकर्षित भए। युद्ध गर्न आएको दैत्य कुमारीको प्रेममा फसे। दानासुर दिनहुँ कुमारीसँग भेट्न आउन थाले। यो कुरा रक्तकाली, भद्रकाली, महाकालीले थाहा पाए। उनीहरूले दिदी श्वेतकालीलाई कुमारी र दानासुरको प्रेमबारे जानकारी गराए। त्यसपछि चारै जना दिदीबहिनीले कुमारीलाई जन्मभूमि या प्रेमी दुईमध्ये एउटा रोज्न लगाए पारे।

कुमारीले प्रेमी दानासुको साटो आफ्नो मातृभूमि रोजिन्। त्यसपछि प्रेमजालमा फसाएर दानासुरलाई रेटेर मारिन्। दानासुर मरेको खबर पाउनासाथ सर्वसाधारण सडकमा निस्किए। दानासुरले चढेर आएको राँगा काटेर मासु पोलेर खान थाले। त्यतिन्जेलसम्म नेवारहरू राँगाको मासु खाँदैनथे। दानासुरको रिसले उनीहरूले राँगाको मासु खाने प्रचलन सुरु भएको किम्वदन्ती रहेको शाक्यले सुनाए।

त्यसपछि चारै दिदीबहिनीले गर्दा राज्यको संरक्षण भएको विश्वास गर्दै उनीहरूलाई भगवानका रूपमा पुज्न थालियो। कुमारीले पनि जिन्दगीभरि कसैलाई प्रेम नगर्ने र बिहे नगर्ने संकल्प गरिन्। कुमारी पनि पुजिन थालिन्।

उनलाई उपत्यकाको संरक्षक मानिन्छ। मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालमा सुरु भएको हो। तर सबै भगवानका पूजाआजा, जात्रामा विघ्नबाधा नआओस् भनेर कुमारीलाई राख्ने गरिन्छ। ‘कुमारीले रक्षा गर्छिन् भन्ने मान्यता छ’, शाक्यले भने, ‘उनी संरक्षक हुन्।’ कुमारीहरू क्रोधी हुन्छन्। सामान्यतया हाँस्दैनन्। उनले देशहितमा आफ्नो प्रेमको बलिदान दिएकाले संरक्षक मानेर श्रद्धा र भक्तीपूर्वक पुज्ने गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्