स्थानीय तहको चुनाव घोषणा गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन



काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट अनेरास्ववियुले मन्त्री निवास पुल्चोकमा प्रदर्शन गरेको छ। अनेरास्ववियु उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल नेतृत्वमा रहेको समूहले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गाडीलाई अवरोध गर्दै नाराबाजीसहित कालो झण्डा देखाएका छन्।

एमालेले पनि जेठभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने बताइरहेको छ। यस्तै सत्तारूढ गठबन्धनको बैठकमा जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति भए पनि सरकारले मिति भने घोषणा गरिसकेको छैन।

निर्वाचन आयोगको परामर्शमा मिति घोषणा गर्ने भने पनि ढिलाइ भइरहेको छ। यस्तै आज अनेरास्ववियुले देशभर प्रदर्शन समेत गर्ने जनाएको छ। पछिल्लो समय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै प्रतिपक्षी दल एमाले आक्रामक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्