हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन



काठमाडौं । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ ।
सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
‘हर्के हवलदारले बनाउन लागेको एउटा गीतको सुटिङका लागि उहाँ काभ्रेस्थली भन्ने ठाउँमा आफै मोटरसाइकल चलाएर पुग्नुभएको रहेछ । एकछिन बसेर विष्णु सापकोटा ‘हर्के’सँग बातचित पनि गर्नुभएछ । त्यसपछि सुटिङसेटमै बेहोस् हुनुभयो । अस्पताल लैजानुअघि नै उहाँको निधन भइसकेको रहेछ,’रवीन्द्रले भने ।
२००९ सालमा इमाडोल, ललितपुरमा जन्मेका केसी २०२८ सालदेखि अभिनयमा सक्रिय थिए । करिब ४ दशकभन्दा लामो समयदेखि सक्रिय उनी स्टेज, रंगमञ्च, टेलिशृंखला र सिनेमामा सक्रिय थिए। उनी तीन दशक शिक्षण पेसामा समेत सक्रिय रहे ।
‘मट्टारे’को उपनामले चिनिने उनलाई एक जमानामा सबैभन्दा पातलो कलाकारका रुपमा समेत चिनिन्थ्यो । वि.सं. २००९ सालमा जन्मिएका कलाकार केसीका २ छोरा, ३ छोरी र श्रीमती छन् ।
अधिकांश कलाकारले ‘मट्टारे’को निधनसँगै सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्