जेठ ४ मै चुनाव गर्ने प्रधानमन्त्री र आयोगका पदाधिकारीको निश्कर्ष



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन आगामी  जेठ ४ गते गर्ने गरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो।

सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल ४ जेठमै निर्वाचन गर्ने विषयमा केन्द्रित थियो।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्