महोत्तरीमा आइतबार दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु



जनकपुरधाम । महोत्तरी जिल्लामा आइतबार दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार राति सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा आयोजित आर्केस्ट्रा नाच हेर्ने क्रममा एक युवा कुटिएको निहुँमा आइतबार दुई समूहबीच झडप भएको हो ।
झडपमा ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको छ । मृतक यादवका छोरा सरोज यादवमाथि कुटपिट गरी स्थानीय मलेठी सदाले मोबाइल खोसेका थिए ।
सोही निहुँमा कुटिएका युवाका अभिभावक र गाउँका अन्य व्यक्तिहरू आइतबार बिहान साढे ११ बजे सदाको घर सुन्दररपुरमा किन कुटेको भन्दै गुनासो गर्न गएपछि झडप भएको हो ।
झडपको क्रममा यादव गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गौशाला स्वास्थ्यचौकीमा मृत्यु भएको इलाका प्रहरीका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
उनका अनुसार मृतकका छोरा सरोज यादव र मनोज यादव घाइते भएका छन् ।
घटनापछि प्रहरीले आक्रमण गर्ने पक्षका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरपुरका मलेसि सदा र नथुनी सदा रहेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्