कांग्रेसका सबै जिल्लाको वडा अधिवेशन असोज ५ मा पनि असम्पन्न



काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले असोज ५ अर्थात् पर्सी(मंगलबार) पनि सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्न नसक्ने भएको छ ।
असोज ५ मा वडा अधिवेशन गर्ने मिति तोकिएको थियो, तर तयारी नपुगेकाले बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने समितिले स्पष्ट पारेको छ ।
दुई दिन पछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने समितिले जनाएको छ ।
समिति सदस्य तेज रावलले भने, ‘१३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन। नामावली प्राप्त भएको दिनबाट कम्तिमा हामीलाई पाँच दिन आवश्यक पर्दछ ।’
वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने समितिले जानकारी गराएको छ ।
क्रियाशील सदस्यता टुंगिन प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको बाँकी छ ।
शनिबार ती जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाउने सहमति बनेको थियो ।
१३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेपछि ७ जिल्लामा मात्रै मंगलबार वडा अधिवेशन हुने भएको छ । भदौ ३० मा सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने भएको छ ।
असोज ५ मा वडा अधिवेशन हुन नसकेका जिल्लामा गाउँ÷नगर अधिवेशनको मिति पनि प्रभावित हुने सम्भावना छ ।
सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ ।
एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १८ गते हुने गरी सारिएको छ ।
प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।
केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्