हामीले संविधान अस्वीकार गरेका होइनौं, असहमति जनाएका हौः नेता भण्डारी (भिडियो)



काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता सरदसिंह भण्डारीले आफूहरूले संविधान अस्वीकार नगरेको बताएका छन्।

लोसपा नेपालले आयोजना गरेको वृहत विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता भण्डारीले संविधानप्रति असहमति रहेको बताएका हुन्। उनले संविधान निर्माणको प्रक्रियामा आफूहरू पनि सहभागी भएको बताउँदै संविधान निर्माणको प्रक्रियालाई बहिष्कार नगरेको पनि स्पष्ट पारे।

उनले भने– ‘संविधानको प्रकियामा हामी सहभागी भएर आएका हौं। हामीले बहिष्कार पनि गरेको होइन्। बहिष्कार त कुन बेला गर्यौ भने राज्यले विभिन्न विषयमा गरेको सहमतिहरूमा बेइमानी गर्यो। हामीले उठाएका विषयहरू लागू गरेनन् अनि हामीले असहमति जनाएका हौं। संविधान अस्वीकार गरेको होइन्। संविधानलाई असहमति जनाएको हो।’

संविधानमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र समानुपातिक समाबेशी राज्य हुनेछ भनेर उल्लेख गरिएको भएपनि कार्यान्वयन नभएकाले असहमति जनाएको उनको भनाई छ।

त्यस्तै लोसपा सरकारमा गएपनि वा नगएपनि आसोज ३ लाई सधै कालो दिनको रुपमा मान्ने पनि उल्लेख गरे । उनले भने– ‘शहिदहरूलाई सम्झना गर्दै, त्यो घटनालाई सम्झना गर्दै हामी असोज ३ लाई कालो दिन मान्दछौं । बाँकी हामी संवैधानिक प्रक्रियामा अघि बढेका छौं । संसदीय अभ्यासमा हामी अघि बढेका छौं । ’

नेता भण्डारीले आफूहरूले उठाएको विषय राष्ट्रिय बहसको विषय बनेको भन्दै खुसी पनि व्यक्त गरे । उनले संविधानमा भएका व्यवस्थाहरू पनि इमानदारिता पूर्वक यो देशमा लागू नभएको भन्दै कार्यान्वयनको पाटो पनि आफूहरूको नै रहेको उल्लेख गरे ।

उनले भने– ‘आज तीन चरणको व्यवस्था गरेको छ । खोई प्रदेशको अधिकार ? आज प्रदेशको शासन प्रशासन खेई ? प्रदेशले निर्णय गर्नुपर्ने आधरहरू खोई ? जबकि उनीहरूले यही संविधानमा लेख्या छन् । स्थानीय सरकार र संघीय सरकारको समन्वय खै ? आफूनै अपूरो संविधान बनाउने । चलाउन नजान्ने अनि दोष चाही अर्कालाई दिने अवस्था सिर्जना भएको छ ।’

नेता भण्डारीले संविधान बनाउनेले मास्न खोजेको पनि आरोप लगाए । उनले भने– ‘जसले संविधान बनायो त्यसले मास्न खोजेको छ र जसले संविधान मन पराएन त्यसले बचाउनु पर्ने अवस्था भइराखेको छ । आज हाम्रो दायित्व संविधान बचाउनु पर्ने पनि छ । यो संविधान हाम्रो संविधान हो ।’

लोसपाको सबै भन्दा ठूले लक्ष्य लेकतान्त्रिक पद्धतीमा समावेशी नेपाल बनाउनु रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्