आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यसुची तय गरिएको बताए। उनका अनुसार बैठकमा विनियोजन विधेयकबारे छलफल हुने छ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् ।

मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमा दफाबार छलफलको मिति तोक्न प्रस्ताव पेस गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन् ।

यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ । यस्तै विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्