आजदेखि देशभर भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै



काठमाडौँ : आजदेखि देशभर भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ । सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ ।

काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ । काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिने मन्त्रालयले तयारी गरेको छ । यीबाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइने बताएको छ । सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने सामेबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्