जेठ ४ मा स्थानीय निर्वाचन गर्न आयोग तयार (विज्ञप्तीसहित)



काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न आफू तयारी अवस्थामा रहेको जनाएको छ । सामान्यतया निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावली लगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न आयोग तयार रहेको जनाएको हो ।
‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनबमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएपनि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको स्पष्ट गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले विभिन्न कारणले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक रहेको पनि उल्लेख गरेको छ । साथै कोभिड–१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल बताइएको छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति आयोगसँगको परामर्शमा नै तोकिने जानकारी दिएको प्रवक्ताले पौडेलले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले गृह मन्त्रालयलाई आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्न पनि निर्देशन दिइसकेको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनबारे परामर्श गर्न आयोगका पदाधिकारी मंगलबार नै प्रधानमन्त्री देउवासँग छलफल गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्