६० कराेड मूल्यकाे झिलिमिली बत्ती अायात



काठमाडाैं : नजिकिँदै गरेको तिहारका लागि मात्र ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल आयात भएको छ । 

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल यो मूल्य बराबरको बत्ती आयात भएको बताए । अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ ।

 

उनले भने, ‘इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा समेत सिजनल व्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् ।

 

महासंघका अध्यक्ष खरेलका अनुसार यस वर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँभन्दा बढी बत्ती खपतको नाममा विदेशिएको छ । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

 

‘झिलिमिली बत्ती तिहारको समयमा मात्रै बिक्री हुन्छ । अन्य समयमा त यसको बिक्री हुँदैन नै भन्दा हुन्छ,’ खरेलले भने, ‘व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयाँसम्मको झिलिमिली बत्ती झिकाएका छन् ।’

 

यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बरभन्दा बढी खपत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्