कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन



सुर्खेत : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट कर्णाली–रारा पर्यटन वर्षको खर्चमा अनियमितता देखिएको छ। पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको प्रश्न उठेपछि अख्तियारले छानबिन थालेको हो।

अनुसन्धानले अनियमितता भेटिएपछि अख्तियारले गहिरो अनुसन्धान थालेको हो। कर्णाली प्रदेश सरकारले गत वर्ष वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो। उद्घाटनमा लागेको खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिले छानबिन गर्न माग गरेका थिए। अख्तियारको सुर्खेतस्थित कार्यालयले प्रारम्भिक प्रतिवेदन केन्द्रमा पठाएपछि अख्तियारले विशेष अनुसन्धान टोली नै खटाएको हो।

प्रदेश सरकार र मन्त्रालयहरूले बुझाएका पर्यटन वर्षका खर्चको विवरण छानबिन गरेर प्रतिवेदन केन्द्रमा बुझाइएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।

अनुसन्धान प्रतिवेदनअनुसार खर्चमा त्रुटि भेटिएपछि थप छानबिनका लागि सुर्खेतस्थित अख्तियार कार्यालयका मेघनाथ सापकोटाले भने, ‘प्रारम्भिक प्रतिवेदन केन्द्रमा बुझायौं, प्रतिवेदनले खर्चमा त्रुटि देखाएपछि केन्द्रीय कार्यालयले थप छानबिन गर्न नयाँ अनुसन्धान टोली खटाएको छ।’

प्रदेश सरकारले बुझाएका बिल भर्पाइमाथि अहिले मिहिन छानबिन भइरहेको अख्तियारले जानकारी दिएको छ। यसअघि प्रदेशसभाको अर्थ र सार्वजनिक लेखा समितिले पनि छानबिन गरेका थिए। समितिले लाखौं अनियमितता भएको ठहर गर्दै कारवाहीको सिफारिस गरिसकेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अघिल्लो वर्ष जेठ २५ मा संसदमा पर्यटन वर्ष उद्घाटनमा ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ मात्र खर्च भएको विवरण पेस गरेका थिए। तर महालेखापरीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको उल्लेख छ।

अर्कोतर्फ प्रदेश सरकारले लेखा समितिलाई भने ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको विवरण उपलब्ध गराएको थियो। एउटै कार्यक्रमको खर्चको विवरण फरकफरक आएपछि पर्यटन वर्ष उद्घाटनमा अनियमितता भएको प्रश्न उठेको हो।

यसअघि लेखा समितिले ५ महिना लगाएर गरेको छानबिनपछि खर्चमा अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्