ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन



ताप्लेजुङ : ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो। प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तकाे भरमा छ ।

मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवकाे भरमा छ। उनले निमित्तकाे जिम्मेवारी सम्हालेकाे दुई महिना भयो ।

भट्टराई र  यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ मा निमित्त प्रमुख प्रशासकीय छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै नयाँ नपठाउँ समस्या भएकाे हाे ।

मेरिङदेन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ। पाभीभरा याङवरक र सिदिङवा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीयविहीन छ। गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै सिरिजंगा गाउँपालिका पनि निमित्तकाे भरमा छ।  स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

स्थानीय तहमा नीति नियम र  कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए। उनले भने, ‘अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएका छाैं । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य सम्बन्धि ज्ञान छ। तर, प्रशासन सम्बन्धि प्रर्याप्त ज्ञान छैन। त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।’ योजना तर्जुमामा पनि समस्या हुने गरेको छ।

छैनन् वडा सचिव पनि !

६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव छैनन्। ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाएकाे छ।

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउन भएकाे हाे। गाउँपालिकाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ सिरिजंगा गाउँपालिका वडा सचिवविहीन छ।

७ वटा वडा रहेको फक्ताङलुङ गाउँपालिकामा तीन जना मात्र वडा सचिव रहेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताए । वडा सचिव नहुँदा स्वास्थ्थ क्षेत्रका अनमीलाई वडा सचिवको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मिक्वाखोला गाँपालिका गत महिना वडा सचिव सुरुवा भएर गएसँगै पालिकामा कार्यरत अन्य कर्मचारीलाई वडा सचिव जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्