आधुनिक बार्सिलाेनाका डिजाइनर, जसले विश्वलाई नयाँ आयाम दिए



विकास र समृद्धि नाराले होइन लगनशीलता र मेहनतबाट मात्र आउँछ भनेर बुझ्न कुनै पनि युरोपेली सहरको कथा पढे पुग्छ। अठारौं शताब्दिपछि युरोपको यात्रा यसरी उकालो लागेको छ, जसले हामीजस्ता विकासशील देशका बासिन्दालाई एकपटक सोच्न बाध्य बनाएको छ। 

लामो समय धार्मिक भुमरीमा परेको युरोपमा सत्रौं र अठारौं शताब्दिमा यसरी परिवर्तन भए कि यसको प्रभावमा विश्वले नै नयाँ आयाम पायो। साथै भयंकर ठुल्ठूला युद्धसमेत निम्त्यायो। यस्तो परिवर्तनमा कुनै एउटा व्यक्तिको मात्र योगदान थिएन, यसमा इतिहासकार, रचनाकार, लेखक र शासकलगायत अनगिन्तीको ठूलो योगदान छ।

युरोपको प्रसंग उठ्दा अधिकांशले त्यहाँका इतिहासकार, साहित्यकार, बुद्धिजीवी र शासकलाई मात्र सम्झन्छन्। एकैछिन यी सबैलाई छाडेर ओझेलमा परेका स्पेनी आर्किटेक्टको कुरा गरौं। उनी हुन् एन्टोनी गौडी जसले आधुनिक बार्सिलोनाको सुरुवात गरे। सन् १८५२ मा कातालोनियाँमा जन्मेर उनले बार्सिलोनालाई कार्यथलो बनाएका थिए।

गौडीले विश्वविद्यालयमा अध्ययनताका नै तस्बिरका सहायताले विश्वका विभिन्न ठाउँका वास्तुकलाको अध्ययन गरेका थिए। उनले भारत, इजिप्ट, जापानका साथै माया र ग्रिक समाजको अध्ययन गरे। यस्ता अध्ययनबाट पाएको ज्ञान उनले आफ्नो कौशल तिखार्न उपयोग गरेका थिए।

परिणामस्वरूप प्राकृतिक दृष्य उतार्न उनले अनुपम कुशलता पाए । उनले स्पेनलाई दिएका उपहारले विश्वलाई नै चकित बनायो। उनले सुरु गरेका सानाभन्दा साना कुराको पनि बार्सिलोना सहरको पहिचानमा महत्वपूर्ण भूमिका छ।

प्रकृति र वास्तुको सुन्दर समिश्रण कलाका आधारमा उनले बार्सिलोनामा क्रान्तिकारी परिवर्तनको औजार बनाए नयाँ इतिहास रचना गरे। वास्तुशिल्पमा उनले परम्परागत शैली तोडेर नयाँ इतिहास बनाए। आधुनिक वास्तुकलाको पिता भनेर चिनिने उनलाई नै दसाौं शताब्दिमा प्रचलित गोथिक आर्किटेक्चरलाई नयाँ तवरबाट प्रस्तुत गर्ने श्रेय जान्छ।

स्पेनको विख्यात पर्यटकीय क्षेत्र मानिने साग्रादा फेमेलिया, पार्क ग्वेल, ला पद्रेरा र कासा बाट्लो उनको वास्तुकलाका जीवन्त नमुना हुन्। त्यहाँ जाने जो सुकैले पनि गौडीको प्रशंसा नगरी रहन सक्दैन।

विज्ञान र प्रविधि विकास नहुँदै उनको सोच र काममा यसरी परिवर्तन आयो जसको गहिराई र भाव बुझ्न अरू आर्किटेक्टलाई लामो समय लागेको छ। उनले सुरु गरेको ‘सग्रादा फेमेलिया’ चर्चको  पूर्णरुप अझै तयार भैसकेको छैन। तर निर्माण सकिएपछि फेमेलिया यस्तो सम्पदा बन्नेछ, जसको निर्माण पूरा गर्न करिब डेढ सय वर्ष लाग्यो।

सन् १८८२ मा सुरु भएको यो सम्पदा निर्माणमा गौडी एक वर्ष पछि परेका थिए। तर उनले आफ्नो जीवनकालभरि काम गर्दा पनि यसको १५–२५ प्रतिशत मात्र काम सकिएको थियो। गौडीलाई थाहा थियो कि आफ्नो जीवनकालमा यो सबै निर्माण सम्भव छैन त्यसैले यसका सबै विवरण सुरक्षित राखेका थिए।

यो चर्च निर्माणमा यति समय लाग्नुको अर्को कारण हो सन् १९३६ को गृहयुद्धमा पहिले निर्मित अधिकांश संरचना ध्वस्त बनाइनु। आजको ‘सग्रादा फेमेलिया’ गौडीले बनाएको भवन होइन। उनले संकलन गरेका र बनाएका सामाग्रीको भग्नावशेष संग्रहालयमा मात्र देख्न पाइन्छ।

बेसिलिका भनेर चिनिएको उक्त चर्च पुरानो समयमा कानुन बनाउन र ठूला बैठक गर्न प्रयोग गरिन्थ्यो। प्रायः चर्चबाटै शासन चलाइने त्यस समय राज्यसत्ताको अभिन्न अंगका रूपमा यस्ता धार्मिकस्थललाई लिने गरिन्थ्यो। गौडीको मृत्यु भएको सय वर्ष अर्थात् सन् २०२६ मा मात्र यो चर्चको निर्माण पूरा हुनेछ।

यसबाहे गौडीले निर्माण गरेका अरू ६ निर्माण विश्व सम्पदामा सूचीकृत छन्। ती हुन्– परक गुलेल, पलासियो ग्युएल, कासा मिला, कासा विकेन्स, कासा बाटलो र कोलोनिया गेल।

विश्वमा यस्तो महान योगदान दिन सक्ने गौडी हामीमाझ छैनन्। उनले सन् १९२६ जुन १० मा संसारबाट विदा लिए। उनको अन्त्येष्टिमा निर्माणाधीन ला सग्रादा फेमिलियामा ठूलो भीड लागेको थियो।

प्रतिक्रिया दिनुहोस्