हरिवनमा ७ बिघामा वृद्धाश्रम बन्ने, आमाघरकी दिलशोभा आमाले सघाउने



हरिवन : हरिवन नगरपालिकामा वृद्धाश्रम बनाइने भएको छ। हरिवन–७ स्थित गणेशस्थान मन्दिर परिसरमा जोडिएको ५ बिघा जमिन र मन्दिर परिसर बाहिरको २ बिघा गरी ७ बिघामा वृद्धाश्रम बनाउन स्थानीयसँग सहमत भएका छन्।

लामो समयदेखि समाज सेवामा सक्रिय महिला र देशभरि नै बालबालिका, अपांग र वृद्धहरूका लागि आश्रम सञ्चालन र सेवा गर्दै आएकी आमाघरकी आमा दिलशोभा श्रेष्ठले आश्रम बनाउन सघाउने भएकी छन्। हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यता एवं आमा दिलशोभा श्रेष्ठको अध्यक्ष्यता तथा वडा नं ७ का वडा अध्यक्ष नेत्रप्रसाद मैनालीलगायत स्थानीय समाजसेवी, भद्र भलादमी र युवा उपस्थित भेलामा छलफल गरेर वृद्धाश्रम निर्माणको निर्णय गरिएको हो।

भेलामा आमा दिलशोभा श्रेष्ठको समाजसेवी पहलकदमीको प्रशंसा गर्दै बाँकी कामको सम्पूर्ण जिम्मा आफूले र नगरपालिकाले लिने मेयर गणेश प्रसाईले बताए। वृद्धाश्रम निर्माण गरिने जग्गाको नक्सा कायम गर्न नगरपालिकाले छिट्टै केन्द्र सरकारलाई सिफारिस गरेर काम थाल्ने मेयर प्रसाईले बताएका छन्।

निकै भावुक भएका मेयर प्रसाईले अब कुनै पनि वृद्ध आमाबुवालाई पारिवारिक अवहेलना हुन नदिने अठोट गरेका छन्। उनले आफ्नो राजनीतिक अवकासपछि यस्तै शान्ति मिल्ने सामाजिक काम गर्ने चाहना रहेको संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्