एमालेलाई निर्वाचनको सामना गर्न वैशाखी आवश्यक छैन : उपमहासचिव ज्ञवाली



नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई निर्वाचनको सामना गर्न कसैको वैशाखी आवश्यक नभएको बताएका छन् ।
निर्वाचनमा एमाले एक्लै लड्ने बताए । ताजा जनादेशमा जान एमाले जहिल्यै तयार रहेको पनि बताए ।
‘एमाले जहिल्यै ताजा जनादेशमा जान तयार छ । स्थानीय चुनाव लगत्तै एमाले प्रदेशसभाको निर्वाचनमा जान पनि तयार छ’, स्थानीय तह निर्वाचनको विषयमा बुधबार आयोजित खुला बहसमा भने, ‘जहाँसम्म स्थानीय तहको चुनावको कुरा छ, समयमै हुनुपर्छ । कुनै बहानावाजी स्वीकार्य छैन । चुनावको सामाना गर्न कसैको वैशाखी आवश्यक छैन ।’
आगामी जेठ ४ मा स्थानीय तह निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको भोलिपल्ट उपमहासचिव ज्ञवालीको यो अभिव्यक्ति आएको हो ।
उनले वर्तमान सरकारले जनतासामू एक ढंगको वाचा कबुल गरेको र भिन्न ढंगले सरकार सञ्चालन भइरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्