काठमाडाैंलाई पराजित गर्दै चितवन राइनाेज फाइनलमा



पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोज प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हाे ।  

 

अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी मंगलबार पोखरा मैदानमा विहान ११ बजे हुनेछ। लिग चरणको शीर्ष स्थानमा रहदै पोखरा यसअघि नै फाइनलमा पुगेको थियो। 

 

पिपिएलका सुरुवाती २ खेलमा हार बेहोरेको चितवनले त्यसपछिका लिगका ३ खेेलमै जित हात पार्दै दोस्रो चरणमा स्थान बनाएको थियो। एलिमिनेटरमा पनि जित हात पारेपछि चितवनले लगातार चौथो जित पार्न सफल भयो। 

 

आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। चितवनका लागि स्मित पटेलले सबैभन्द बढी ३८ रन जोडे।

 

उनले ४३ बलमा ३ चौका प्रहार गरे। स्मित र आरिफ शेखबीच चौथो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। आरिफले नटआउट २० र सनी पटेलले नटआउट ६ रन जोडे। 

 

ओपनर हरिशंकर साहले २६ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। चितवनका ओपनर अनिल साह आइतबार पनि चल्न सकेनन्। उनलाई १ रन बनाएर खेलिरहदा सुसन भारीले विकेट पछाडि जयकिशन कोल्सावालबाट क्याच गराए। चितवनका कप्तान पारस खड्कालाई पनि सुसनले १ रनमा आउट गर्दै पेभिलियनको बाटो देखाए। 

 

बलिङमा काठमाडौंका सुसन भारीले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। पवन सराफले १ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्