संसद् खुलाउन एमालेको चार विकल्प



प्रमुख विपक्षी दल नेकपा (एमाले) ले संसद् अवरुद्ध खुलाउन चार विकल्प अघि सारेको छ । तीन विकल्प सभामुख अग्निप्रसाद सापकोटासँग र एउटा विकल्प सर्वोच्च अदालतसँग सम्बन्धित छ । सर्वोच्चसँग सम्बन्धित विकल्पमा भूमिका भने सत्तारूढ गठबन्धनको हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी खुला बहस कार्यक्रममा ज्ञवालीले एमालेले दिएको विकल्पहरू कार्यान्वयन भए संसद् अवरोध हटाउने बताए । नभए अवरोध जारी रहने उनको भनाइ छ ।
उनका अनुसार एमालेले दिएको चार विकल्प यस्ता छन् :
१) सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदको नामसहितको सूचना टाँस्नुपर्ने,
२) एमाले विभाजनको कारक बनेको भन्दै सभामुखले सार्वजनिक रूपमा क्षमा याचना गर्नुपर्ने,
३) पदबाट राजीनामा दिनुपर्ने र
४) एमालेले सर्वोच्चमा नेकपा (एकीकृत समाजवादी) पार्टी खारेजको लागि दिएको रिटको सुनुवाइ छिटो गर्नुपर्ने ।
संसद्लाई निकास दिने बाटो चार विकल्प रहेको ज्ञवालीले बताए । उनी भन्छन्, ‘चारमध्ये एक विकल्प मात्रै मानिए संसदलाई निकास दिन सकिन्छ । नभए केही काम अगाडि बढ्दैन ।’
उनले सर्वोच्च अदालतले २८ असारमा दिएको परमादेशलाई गम्भीर आपत्तीका बाजदुत पनि स्वीकारिएको र पुनःस्थापित संसदको ३ साउनदेखि ३२ साउनसम्म बसेको बैठक अवरुद्ध नगरिएको पनि स्मरण गराए ।
तर, सभामुख सापकोटाले पदीय आचरण नदेखाएका कारण २३ भदौदेखि भने अवरोध गर्न एमाले बाध्य भएको स्पष्ट पारे । उनले एमालेप्रति सभामुख पूर्वाग्रही बनेको पनि आरोप लगाए ।
‘भदौ २३ गतेदेखि प्रतिनिधिसभा अवरुद्ध छ । अवरोध कुनै कारणले होइन, संसदको नेता जो फेयर हुनुपर्छ, उहाँ फेयर हुनु भएन । जनता समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गर्दा २४ घण्टामा सूचना टाँस गर्नुभयो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरिशंकर चौधरीहरूलाई कारबाही गर्दा ४८ घण्टाभित्र टाँस्नुभयो । तर, नेकपा एमालेले आफ्ना पार्टीका सांसदहरू जुन अनुशासन उल्लङ्घनका कारणले कारबाहीमा परेका थिए, हामीले कारबाही गरेका सांसदहरूको सूचना उहाँले टाँस्नुभएन । त्यतिबेलासम्म टाँस्नुभएन, जतिबेलासम्म निर्वाचन आयोगले हामीले कारबाही गरेका मानिसहरूलाईसमेत टाउको गनेर नयाँ पार्टी दर्ता गर्ने स्थिति भयो ।’
उनले एमालेले गरेको संसद् अवरोधलाई सभामुखसँगको लडाइँ भएको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्