तथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्र समाचार सम्प्रेषण गर्न काउन्सिलको आग्रह



प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ।

केही सञ्चारमाध्यमहरुले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न सञ्चारगृहको ध्यानाकर्षण गराएको हो।

बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरुले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए।

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए।

उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरुलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरुले गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको पनि बताए।

उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले समेत स्पष्ट पारेको थियो।

प्रतिक्रिया दिनुहोस्