भूकम्पमा मारिएकाे भनी काजकिरिया गरिएका जीवन जिउँदै भेटिए



पोखरा : सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेका भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी काजकिरिया गरिएको थियो ।

 

विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि सम्पर्कविहीन भएका थिए ।  भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुन सक्ने ठानेर घरमा काजकिरिया गरिएको उनका ठूलोबुबा हरि बूढाले बताए । 

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलोबुबाले भने, “पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उ भाग्याे ।” जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोबार बन्द गरेर पोखरा गएकाे उनले बताए ।

 

उमेर सानो भएका कारण ब्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोे छोरा जीवनको काजकिरिया गरिएको उनले बताए ।  

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पुर्याउने धामीको धोको छ । 

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतीक्षामा छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजा खोजीमा भौँतारिरहहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्