बैतडीका व्यापारीको हत्यामा सातजना नियन्त्रणमा



बैतडी । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए।
कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ।
घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। नियन्त्रणमा लिएकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। महराको शव बिहान सन्सेरीमाडौंकै एक पसल अगाडि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
महराको सामूहिक हत्या भएको प्रारम्भिक रिपोर्टले देखाएको छ।
घटना भएको ठाउँबाट कमलको घर सय दुई मिटरको दुरीमा मात्रै रहेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्